धनगढी | नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री शाहले आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीलाई बर्खास्त गरेसँगै समाजवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
योसँगै, मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा माओवादी केन्द्रले यस अघि नै समर्थन फिर्ता लिइसकेको छ ।
प्रदेश सभामा माओवादीका सभामुखसहित ११ जना, नेकपा एमालेका १० र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् । मुख्यमन्त्री शाहलाई अहिलेसम्म आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन छ ।
नागरिक उन्मुक्तिले पनि समर्थन फिर्ता लिने तयारी गरेको छ। ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ। कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा सांसद संख्या २५ मात्र पुग्छ।
प्रदेश सभामा स्वतन्त्र एक जना र राप्रपाका १ जना सांसद छन् । उनीहरूले समर्थन दिएमा मात्रै मुख्यमन्त्री सुरक्षित हुन सक्छन् । तर त्यो सम्भावना निकै कम रहेको कांग्रेसकै सांसदहरू बताउँछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
