त्रिभुवन विमानस्थलबाट ७ महिनामा ८० अर्बको सामान आयात

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा २९ वटा भन्सार नाका (विन्दु) हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको माल-वस्तु आयात भएका छन्। जसमध्ये १७ वटा भन्सार विन्दुबाट नेपालको तर्फबाट ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको माल-वस्तु निर्यात हुँदै गर्दा एक दर्जन (१२ वटा) भन्सार निर्यात शून्य हुन पुगेका छन्।

भद्रपुर भन्सार कार्यालय, चोभार सुख्खा बन्दरगाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए), जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए), राजविराज भन्सार कार्यालय, सिरहा भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय, सुथौली भन्सार कार्यालय, थाडी भन्सार कार्यालय र त्रिवेणी भन्सार कार्यालयबाट निर्यात शून्य भएका हुन्। तथापि, आयाततर्फ यी १२ वटा भन्सार नाकाहरुको केही न केही योगदान रहेको छ।

Advertisement

समीक्षा अवधिमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट मात्र ८० अर्ब ३९ करोड ५६ लाख ७१ हजार रुपैयाँ बराबरको माल-वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। मुलुकमा हाल तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय उडानमा हालसम्म टीआईए मात्र नियमित भएकाले सोही विमानस्थलबाट यात्रुसहित वैदेशिक आयातनिर्यात भइरहेको छ।

यस्तै, समीक्षा अवधिमा टीआईएमार्फत २० अर्ब १३ करोड ६८ लाख ४७ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको समेत विभागले जनाएको छ। कूल आयातको तुलनामा टीआईको हिस्सा ८.९५ प्रतिशत रहेको छ भने निर्यातमा २३.१९ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा सबैभन्दा बढी वीरगन्ज भन्सार कार्यालयबाट ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको माल-वस्तु आयात भएको छ भने सोही भन्सार कार्यालय हुँदै १६ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

यस्तै, विराटनगर भन्सार कार्यालयबाट ९७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ बराबरको मालवस्तु आयात हुँदै १७ अर्ब ८६ करोड ६५ लाख रुपैयाँको निर्यात भएको छ।

भैरहवा भन्सार कार्यालयबाट १ खर्ब ३७ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ बराबरको माल–वस्तु आयात हुँदै गर्दा उता ७ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बराबरको माल–वस्तु निर्यात भएको छ।

More News last news
Loading...