काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। मंगलबार महासंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकामा व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था गर्ने सरकारसँग माग गरेको हो।
महासंघले चीनसँगका नाकाबाट आयात हुने सामान सहज रुपमा नेपाल भित्र नभित्रने र चीन जान नपाउँदा नेपाली व्यवसायीहरुको अर्बौं रुपैयाँको सामान जोखिममा परेकाले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो।
महासंघले व्यवसायीहरुलाई सहज रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो । महासंघका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई केरुङ र तातोपानी नाकाबाट एउटा जिल्लाका व्यवसायीहरु मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीहरुलाई अस्थायी पासको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गरिएको बताउनुभयो।
उहाँले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायीहरु आफैँ जान नपाउँदा व्यवसायीहरु समस्यामा रहेको बताउनुभयो । अध्यक्ष कार्कीले चीनबाट आयात हुने सामानहरु नाकामा फुट्ने,लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायीहरु नाका पारी जान नपाउने बताउनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
