पोखरा । प्याराग्लाइडिङ उडानमा लगाइएको एकद्वार प्रणालीको प्रावधान हटेपछि पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडानको शुल्क ह्वात्तै घटेको छ। अहिले कम्पनीले ३ देखि ४ हजार रुपैयाँमा पाहुनालाई आकाशमा उडाउन थालेका छन्। यो शुल्क केहीदिन अघिसम्म १२ हजार रुपैयाँ थियो। यो शुल्क १५ देखि २० मिनेट उडान अवधिको रहेको व्यावसायीले बताएका छन्।
प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणाली लागु गर्ने वा प्रतिश्पर्धात्मक रुपमा व्यावसाय गर्न दिने भन्ने विषयमा विवाद बढ्दै जाँदा केहीदिन अघि प्याराग्लाइडिङ उडान रोकिएको थियो। प्याराग्लाइडिङ व्यावसायी, व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) र पाइलटबीच विवादका कारण झन्डै दुइसातासम्म उडान अवरुद्ध भएको थियो।
हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले समेत विवादका बीच उडान गर्दा जोखिम हुने भन्दै प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। तर, खुला बजार नीति अनुसार व्यावसायी आफैले मूल्य तोकेर उडान गर्न पाउने गरि सहमति भएपछि उडान खुला भएको थियो।
अहिले पोखराको आकाशमा उडान गर्दा बढीमा ४ हजार रुपैयाँ लिएको व्यावसायीले बताएका छन्। यात्रु तान्ने होडमा कतिपयले ३ हजार रुपैयाँसम्ममा पनि उडान गरिरहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
