गाेरखा । सम्भव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाका सात वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको छ । सम्बन्धित पालिकामार्फत स्वास्थ्य संस्थाहरूलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो। बिहीवार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, पालुङटार नगरपालिकाको मिरकोट कोटगढी आधारभूत स्वास्थ्य चौकी, सिरानचोक गाउँपालिकाको श्रीनाथकोट स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकाको भच्चेक आधारभूत अस्पताल र बारपाक सुलीकोट गाउँपालिकाको सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताललाई एक/एक थान एम्बुलेन्स उपलब्ध गराइएको हो । पालुङटार नगरपालिकालाई उपलब्ध गराउने एम्बुलेन्स भने भन्सार जाँचपासकै क्रममा रहेको कार्यक्रममा बताइएको छ ।
मुख्यमन्त्री पाण्डेले लक्षित नागरिकले सहजै उपभोग गर्न सक्ने गरी एम्बुलेन्स सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले भन्सार छुटसहित सात वटा एम्बुलेन्सको लागत दुई करोड २८ लाख ८० हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।
सम्भव नेपालले यसअघि गाेरखाका छ वटा पालिकालाई ‘ग’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको थियो । यो पटक एम्बुलेन्ससँगै झन्डै ४५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पनि उपलब्ध गराइएको खत्रीले जानकारी दिनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
