राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २ हजार ४७ मतदाताको नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५ सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जनागरी कूल दुई हजार ४७ जनाको नामावली स्वीकृत भएको हो ।

Advertisement

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाएर ५४९ जना कायम गरिएको आयोगले जनाएको छ ।

मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअन्तर्गत प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको कुलमतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार रहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने छ। प्रकाशित नामावलीमा कुनै मतदाताको नाम छुटेको भए नाम समावेश गर्न, व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने छ । पुस २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ ।

More News last news
Loading...