काठमाडौँ l पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण थुनामुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँण सात महिनापछि जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाँणलाई हिजो उच्च अदालत पाटनले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। आज धरौटी बुझाउन जिल्ला अदालत पुगेका खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा पनि पेश गरिएको थियो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सम्पत्ति शुद्धीकरणले १५ लाख रुपैयाँ धरौटी लिएर साधारण तारेखमा उपस्थित हुन भनेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै करोडौँ ठगी प्रकरणमा खाँणलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन लिएर गएकाहरूमध्ये उच्चले खाँणसहित ११ जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ भने ९ जनालाई थुनामै पठाएको छ। खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
