बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

गण्डकी । पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । त्यस तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ ।

मन्त्रालयको ऊर्जा शाखा प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको शतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुर्‍याउने योजनामा मन्त्रालय छ । ‘बिजुलीको पहुँचबाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पुर्‍याउँछौँ,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ ।’

Advertisement

अहिलेसम्म बिजुली नै नपुगेका घरधुरी पहिचान गर्न नेपाल विद्युत् प्राधिकरण र पालिकासँग मन्त्रालयले समन्वय गरिरहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । ‘अन्यत्र पनि विद्युत् सेवाबाट बञ्चित गाउँ र परिवार हुन सक्छन्, त्यस्ता ठाउँको हामी आफैँले पनि खोजी र अध्ययन गर्दैछौँ,’ इन्जिनियर श्रेष्ठले भन्नुभयो।

प्रदेशभित्रका ९९ दशमलव ५० प्रतिशत घरमा विद्युत् सेवा पुगिसकेको र बाँकी घरधुरीमा यथाशक्य छिटो बिजुली पुर्‍याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा सबै घरमा बिजुली पुर्‍याउने निर्णय गरेको थियो ।

बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यसै वर्ष पूरा हुने मन्त्रालयले जनाएको छ । सरकारको चालु आव २०८०/८१ को नीति तथा कार्यक्रमले पनि यस लक्ष्यलाई समेटेको छ।

मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले विद्युतीकरण हुन बाँकी नवलपुर र तनहुँका केही ठाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको बताउनुभयो ।

More News last news
Loading...