काठमाडौँ । नेपालमा गएको नोभेम्बर महिनामा एक लाखभन्दा धेरै पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका हुन्।
अघिल्लो वर्ष अर्थात् सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएका थिए। यस्तै, कोरोना महामारी शुरु हुनुअघिको वर्ष सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय २ जना पर्यटक नेपाल आएका थिए।
सन् २०१९ को तुलनामा पर्यटक आगमन ८३ दशमलव ३६ प्रतिशतले पुनरुत्थान भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए। यस वर्षको नोभेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट २४ हजार ४ सय ४३ जना आएका छन्। यस्तै, अमेरिकाबाट ११ हजार ४ सय ६१ जना र चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
