उपयुक्त अवसरको खोजीमा पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । राजतन्त्र फर्काउने आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र दुर्गा प्रसाईँबीच घम्साघम्सी चल्ने देखिएको छ । राजा, राष्ट्रियता, धर्म र नागरिक वचाउ महाअभियान भन्दै सडकमा आएका विवादीत मेडिकल व्यवसायी राप्रपाको आधिकारिक समर्थन पाउनबाट बञ्चित भएपनि विस्तारै माहोल बनाउदै लगेका छन् ।

प्रदर्शनमा अशान्ति र हिंसा भड्किने खतरा बढेपछि स्थानीय प्रशासनले प्रदर्शनमै रोक लगाएको छ । यसले प्रसाईँमाथि राप्रपाको पनि समर्थन मिल्ला ? वंशीय शासनबाट बहिर्गमनपछि पूर्वराजा ज्ञानेन्द्र शाह आम नागरिक सरह जीवन व्यतित गर्दै आएका छन् ।

Advertisement

मठ मन्दीर धाउनेदेखि पुजापाठ र नागरिक अभिनन्दमा सहभागी हुने गरेका उनी अहिलेको शासन व्यवस्थाले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी पनि गरिरहन्छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायिक प्रणालीमै भ्रष्टीकरण भएको दाबी गर्ने पूर्वराजा फेरि गद्दीमा फर्किन सकिन्छ की भन्ने उपर्युक्त समयको खोजीमा छन् ।

पूर्वराजाको निरन्तरको वक्तव्य, व्यवस्थाप्रतिको आक्रोश सार्वजनिक हुने गरेपनि दलका नेताहरुले भने दल खोलेर राजनीतिमा आउन चुनौति दिदै आएका छन् । केहिदिन पहिले मात्रै पनि पूर्वराजाप्रति संकेत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आक्रोश पोखेका थिए ।

गणतन्त्र स्थापनापछि पूर्वराजालाई पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले विभिन्न सुविधा भने दिएको छ । तर, फेरि राष्ट्र प्रमुख बन्ने ध्याउन्न उनीमा प्रष्ट देखिन्छ ।

यस्तोमा राजतन्त्रको घोषित नीति लिएर राजनीति गरिरहेको राप्रपाले राजतन्त्र स्थापना गरेर राजा बनाउने भन्ने विषय अहिलेसम्म खुलस्त भन्न सकेको भने देखिदैन । तर, यो आन्दोलनमा कांग्रेस, कम्युनिष्ट हुँदै वैंक तथा वित्तिय संस्थाको ऋणबाट विरक्तिएका विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँ मिसिएपछि राप्रपा प्रष्ट दुई धारमा विभक्त बन्न पुगेको छ ।

राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानबहादुर शाही भने पार्टीको निर्णयविना नै निरन्तर प्रसाईँको पक्षमा वकालत गर्दै प्रदर्शनमा समेत सहभागी छन् । शाहीसहित डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र लगायतका नेताहरु खुलेर लागेपनि अध्यक्ष राजेन्द्र लिङ्देनले भने प्रसाईँलाई पत्याइरहेका छैनन् ।

प्रसाईँ राजावादी अभियानमा लागेदेखि नै लिङदेनले प्रसाईँलाई ठगको संज्ञा दिँदै आएका छन् । बैंकबाट ऋण लिएर तिर्नु पर्दैन भन्नेलाई राप्रपाले समर्थन गर्न नसक्ने र राजा ल्याउँछन भनेर विश्वास गर्न पनि नसकिने दाबी लिङदेनले गएको चुनावमा नै गरेका थिए ।

लिङदेन र प्रसाईँको वाकयुद्ध धेरै समय चलिरह्यो । लिङ्देनले प्रसाईँलाई ठग भनेपछि प्रसाईँले पनि लिङ्देनमाथि आक्रोश पोखेका थिए । विगतदेखि नै उनीहरुबीच चलेको जुहारी राजतन्त्रकै कारण फेरि मिलाप हुने त होइन ? प्रश्न भने उठेको छ । प्रसाईँले अहिले पनि बैंकको ऋण ब्याज तिरेका छैनन् ।

यसरी हेर्दा प्रसाईँ लिङदेनको नजरमा ठग नै हुन् र उनले राजा ल्याउनै सक्दैनन् । तर, पार्टीका नेताहरुको रुझानले लिङ्देन समस्यामा परेका छन् ।

काठमाडौंमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले रोक लगाउनुका साथै धरपकड गरेपछि भने लिङ्देनले सरकारविरुद्ध आक्रोश पोखेका छन् । सामाजिक सञ्जालबाट लिङ्देनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्ने दाबी गरेका छन् । तर, प्रसाईँको अभिब्यक्ति भने अराजक र उत्तेजक नै छ ।

More News last news
Loading...