गर्भवतीको घरमा निलो झण्डा

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राखेको छ । वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिए । उनीहरुको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उनले बताए ।

Advertisement

गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको भण्डारीले बताए । सबै वडामा रहेका स्वास्थ्य संस्थालाई दसैँ र तिहारका बीचमा निलो झण्डा वितरण गरिएको जनाउँदै ‘गर्भवती पहिचान घर कार्यक्रम’अन्तर्गत गर्भवतीको घरमा झण्डा राखिएको उनले बताए ।

‘स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ । यो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान गरेका छौँ’, स्वास्थ्य संयोजक भण्डारीले भने, ‘पालिकाभित्रका वडा १ देखि ८ सम्म शिशु र आमाको मृत्युदर घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका छौँ ।’ झण्डाले घर पहिचान हुने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज उनले बताए ।

More News last news
Loading...