काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा घरबास गुमाएका पीडितलाई सरकारले अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । पीडित परिवारलाई अस्थायी आवासका लागि जस्तापाता खरिदलगायत निर्माण सामग्रीका लागि राहत दिने सरकारको तयारी छ ।
अघिल्लो हप्ता शुक्रवार मध्यराति गएको भूकम्पमा पूर्ण र आंशिक गरी ६२ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन नसकेको गुनासो पनि छ ।
तर भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि स्थानीय तहसँगै सङ्घसंस्था र नागरिक तहबाट राहत सहयोगमा हातेमालो भैरहेको छ । विभिन्न पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग रकम नै छुट्टाएका छन् । त्यस्तै गण्डकी प्रदेश सरकारले भूकम्पलगत्तै आपत्कालीन मानवीय सहायताका लागि डाक्टरसहित उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो।
लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने निर्णय गर्याे । त्यस्तै पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँको सहयोगसमेत घोषणा गरेको छ । महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको मेयर धनराज आचार्यले बताउनुभयो ।
बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका पालिकाले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए । काठमाण्डौको टोखा नगरपालिकासहित अरु स्थानीय तहले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उपचार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
