काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरुका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज मंगलवार कोटेश्वर पेरिसडाँडामा बसेको संगठनको कार्यालयको बैठकले आफ्नै संगठनका सदस्यहरुसँग आन्तरिक रुपमा रकम संकलन गरेर भूकम्प पीडितहरुलाई सहयोग गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जानकारी दिए।
आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ। रकम संकलनका लागि अध्यक्षदेखि महासचिव पदसम्मकालाई पाँच हजार, त्यसभन्दा तल्लो पदका पदाधिकारीलाई तीन हजार, केन्द्रीय सदस्यहरुलाई एक हजार र प्रदेश कमिटी सदस्यहरुलाई ५०० रुपैयाँ तोकिएको उपाध्यक्ष रेग्मीले जानकारी दिए।
‘यो रकम चन्दा मागेर संकलन गर्ने होइन, हामी आफू-आफूले नै व्यक्तिगत रुपमा संकलन गरेर भूकम्प पीडितको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने हो,’ उनले भने।
भूकम्प गएलगत्तै अखिल क्रान्तिकारी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा सक्रिय रहेको उनले बताए । उनका अनुसार अखिल क्रान्तिकारीले भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि सहयोग होस् भनेर रक्तदान लगायतका कार्यक्रम पनि गर्दै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
