काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो।
पटक पटक भएको दुर्घटनाका कारण कम्पनीको सम्पूर्ण हेलिकप्टरको अवस्था चेकजाँच गर्ने र प्रक्रिया पुरा नभएको वा त्रुटि भेटिएमा सेव सञ्चालन प्रमाणपत्र खारेज गर्ने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले बताए। आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइ घाइते भएका छन् । उनको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । तीन महिनाअघि मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरुङसहित ५ जनाको मृत्यु भएको थियो । खराब मौसमका कारण सो दुर्घटना भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
