काठमाडौं । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरेका हुन् ।
रोमानिया नेपाली श्रमिकका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यका रुपमा परिचित छ । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम समझदारी भएको हो । दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपलगायत विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न दुवै मुलुकबीच सहमति भएको छ ।
दुवै मुलुकका आप्रवासी कामदारले रोमानियाका नागरिकसरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने तथा दुवै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए ।
हस्ताक्षर समारोहमा श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र रोमानियास्थित नेपालका अवैतनिक वाणिज्यदूत नवराज पोखरेल तथा रोमानिया सरकारका श्रमसँग सम्बन्धित विभिन्न निकायका उच्च अधिकारीको सहभागिता रहेको प्रवक्ता घिमिरेले बताए ।
त्यसअघि भएको द्विपक्षीय वार्तामा श्रममन्त्री भण्डारीले नेपाली कामदारसँग सरोकारका विषय, द्विपक्षीय श्रम समझादारीको आवश्यकता र प्रभावका बारेमा नेपालको अवधारणा प्रस्तुत गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
