स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा आयोजित ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।
नगर उपप्रमुख हेमा न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माको विशेष उपस्तिथि रहेको कार्यक्रमको सञ्चालन प्रास हिमाल भण्डारीले र स्वागत मन्तब्य शिक्षा शाखा प्रमुख केदारराज आचार्यले राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिवारीले बौद्धिक सक्षमताले भरिपूर्ण रहेका शिक्षकहरुको अगाडि आफू केही सिकाउन नभै आशिर्वाद लिन आएको बताउँदै सबैप्रति श्रद्धापूर्वक सम्मान व्यक्त गरेका थिए । मन्त्री तिवारीले यो बर्गको हातमा सभ्य समाज निर्माणको तागत रहेकोले आफ्नो पेशामा प्रतिबद्द भएर लाग्न अनुरोध समेत गरेका छन् ।
यसै, अवसरमा नगरप्रमुख भट्टराईले अतिरिक्त कृयाकलापको माध्यमबाट बिद्यार्थीमा रहेको अन्तर निहीत क्षमताको विकास गरी उनीहरुमा सकारात्मक उर्जा भर्दै उत्साही बनाउँदै शैक्षिक प्रगतिका लागि थप उत्प्रेरित गर्नु रहेको बताए । कुनैपनि क्षेत्रमा जस्तो सोच राखिन्छ त्यस्तै उपलब्धि प्राप्त हुने भएकोले सकारात्मक सोच राख्दै आफ्नो कर्ममा लाग्न सबैलाई अनुरोध गरे । उनले शिक्षकहरुको असल कर्म र निरन्तरताले नै सभ्य समाज निर्माण हुने भएकोले त्यो दिशामा कर्तब्यनिष्ट भएर लाग्न अनुरोध गर्दै शिक्षकहरुप्रती सम्मान ब्यक्त गरेका थिए ।
कार्यक्रममा, नगर उपप्रमुख हेमा न्यौपानेले सभ्य समाज निर्माणमा लाग्न सबै शिक्षकहरुमा अनुरोध गरेकी थिइन् । साक्षरता दिवसको सन्दर्भमा आयोजित नगर स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता, कबिता लेखन तथा वाचन प्रतियोगिता, नेतृ प्रतियोगिता र आधारभूत तह नृत्य साथै बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।

कार्यक्रममा कक्षा ५ र ८ को उपलब्धिमा पनि परिक्षामा नगर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी, विधालय साथै उत्कृष्ट नम्बर आएका बिषय शिक्षक, प्रतियोगिताका बिजेता, लामो समय शिक्षण पेशामा रहि अवकास प्राप्त शिक्षक, बढुवा शिक्षक साथै आफ्नो पेशामा प्रतिबद्ध शिक्षक, कर्मचारी, शिशु सहयोगी कार्यकर्ता, बिब्यस अध्यक्षहरु, गल्याङ र मालुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु, कर्मचारी लगायतका ब्यक्तिहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो।
कार्यक्रममा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका सयौँ शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
