स्याङजाको अर्जुनचौपारीमा बन्यो हेलिप्याड, विपद्मा राहत पाउने विश्वास

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ को सहेलेमा हेलिप्याड निर्माण भएको छ । अर्जुनचौपारी गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा नेपाली सेना, समरजित गुल्मको श्रमदानमा निर्माण सम्पन्न भएको उक्त हेलिप्याड आज नेपाली सेनाले एक कार्यक्रमकाबीच गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेना समरजीत गुल्मका गुल्मपति सेनानी हरिप्रसाद भट्टराईले गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीलाई हेलिप्याड हस्तान्तरण गरेका हुन् । उक्त हेलिप्याड हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्याङजाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले विपद् र समस्या भन्ने कुरा कतिबेला कसलाई आउँछ थाहा नहुने भएकाले विपद् व्यवस्थापनमा हेलिप्याड निर्माण महत्वपूर्ण रहेको बताए ।

Advertisement

विपद् व्यवस्थापनमा स्थानीय तहसँग सहकार्य आवश्यक भएको भन्दै प्रजिअ घिमिरेले जिल्ला सुरक्षा समिति तथा अन्य सरोकारवालाहरुसँग मिलेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।

गाउँपालिसँगको समन्वयमा श्री समरजित गुल्म स्याङ्जाले चालु आर्थिक वर्ष २०८९/८० मा सीमित कार्यक्रम अन्तर्गत विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी तथा गम्भीर खालका बिरामीहरूलाई आकस्मिक उद्धार गर्न सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका प्रमुख सेवक प्रकाश तिवारीले बताए।

हेलिप्याड जम्मा ७ लाख ३३ हजार ४ सय ५९ रुपियाँमा निर्माण भएको गाउँपालिकाले जनाएको छ । १५ दिनमा निर्माण गरिएको उक्त एमआई १६ हेलिप्याड करिब ६०/६० फिट लम्बाइ र चौडाइ भएको जिल्लाकै सबैभन्दा ठुलो हेलिप्याड दावी गरिएको छ ।

More News last news
Loading...