पोखरामा प्रदेशस्तरीय साइन्स फेस्टिभल सुरु

पोखरा । हिमालयन साइन्स फाउन्डेसनको आयोजनामा पोखरामा बुधबारदेखि हिमालयन साइन्स फेस्टिभल सुरु भएको छ ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चल्ने फेस्टिभलमा विभिन्न ५० स्टल राखिएका छन् । तीमध्ये २६ स्कुलका ४० प्रोजेक्ट छन् । बाँकी अप्रत्योगी रुपमा १० प्रदर्शनीमा छन् ।

फेस्टिभल उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका साथै नयाँ नयाँ प्रविधि विकासमा यसखालका महोत्सवले निकै महत्व राख्ने बताए । शिक्षा विकास तथा समन्वय केन्द्र कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा फेस्टिभल महत्वपूर्ण रहेको बताए । उनले यसखालका फेस्टिभल आगामी दिनमा पनि नियमित हुन् भनी अपेक्षा गरे ।

Advertisement

हिसान कास्की अध्यक्ष यामबहादुर रोकाले विद्यार्थीलाई योसँगै विभिन्न क्षमता विकासमा अवसर दिनुपर्नेमा जोड दिए । प्याब्सन कास्की अध्यक्ष मधुरा पौडेलले सबैको कुरा सुन्ने विद्यार्थी हुन् भन्दै अब विद्यार्थीको कुरा हामीहरुले सुन्नुपर्ने बताए ।

आयोजक हिमालयन साइन्स फाउण्डेसनका अध्यक्ष आतंक बस्नेतले आफूहरुको विज्ञान अभियानमा सरोकारवाला निकायको सहकार्यमा देशका हरेक प्रदेशमा फेस्टिभल आयोजना गर्ने बताए । उनका अनुसार साइन्स फेस्टिभल यसअघि लुम्बिनी प्रदेशको नेपालगञ्जमा भइसकेको छ ।

विज्ञान शिक्षक समाज नेपालको सहआयोजनामा भएको फेस्टिभलले विद्यार्थीको वैज्ञानिक धारणा र नवप्रवर्तकमा टेवा पु¥याउने मूल उद्देश्य रहेको समाजका गण्डकी प्रदेश संयोजक राजकुमार ढकालले बताए । उनका अनुसार फेस्टिभलमा प्रदेशका निजी तथा सामुदायिक गरी २२ विद्यालयले भाग लिएका छन् ।

कतिपयले विद्यालयले एक वा सोभन्दा बढी वैज्ञानिक प्रदर्शनी प्रतियोगितात्मक रुपमा राखेका छन् भने अन्य केही संस्थाको प्रदर्शनीमात्र छ । पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई २० हजार र सान्त्वना ४ टिमलाई ६÷६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

More News last news
Loading...