पोखरा । पोखराको लामाचौरस्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा सफ्टवयर इन्जिनियरिङ–२०१८ ब्याचका विद्यार्थीको आयोजनामा बिहीबारदेखि ‘नवौं जिसिइएस आइटी एक्स्पो–२०८०’ सुरु भएको छ । २ दिनसम्म चल्ने एक्स्पोमा विभिन्न ३० स्टल छन् । जसमा विद्यार्थीले बनाएका सफ्टवेयरको प्रदर्शनी छ ।
एक्स्पो उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले शिक्षा ज्ञानको ज्योति हो भन्दै पहिलो ज्ञान घरपरिवारबाट, दोस्रो स्कुल/कलेजबाट र तेस्रो सेवा तथा व्यवसायबाट प्राप्त हुने जनाइन् ।
कार्यक्रममा गण्डकी सार्वजनिक शैक्षिक गुठीका सदस्य प्राडा विनायक भद्रा, गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी, नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानका क्याम्पस प्रमुख निर्मल बराल लगायतले गण्डकीले यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरे ।
कलेजका प्रिन्सिपल वीरेन्द्र खड्काले गण्डकी बोर्डिङ स्कुल तथा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर लागिपरेको बताए । ३ वर्षयता कोरोनाका कारण रोकिएको एक्स्पोलाई विद्यार्थीको सहयोगमा पुनः निरन्तरता दिइएको बताए । उनले यस अवसरमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता, वृक्षरोपण र रक्तदान कार्यक्रम गरिएको पनि जनाए ।
हाजिरीजवाफमा एसओएस गण्डकी प्रथम, ब्रह्मारुपा मावि दोस्रो र अम्बिका मावि तेस्रो भएका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी अनुष्का पराजुली र अस्मित नेपालीले गरेका थिए ।
विद्यार्थीको प्रतिभा तथा सिर्जनशीलतालाई हौसला प्रदान तथा सफ्टवेयर इन्जिनियरिङ÷सूचना प्रविधिबारे सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यले बिहीबारदेखि लामाचौरस्थित कलेज परिसरमा एक्क्पो आयोजना गरिएको एक्स्पो अध्यक्ष राजन अर्यालले बताए । उनका अनुसार सूचना प्रविधि प्रदर्शनीमा सफ्टवेयर प्रदर्शन, कोडिङ प्रतिस्पर्धा, हार्डवेयर शोकेस तथा विविध खेलका प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम हुने छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
