पोखरामा क्या. गुरुङसहित करिब ५० जना ओलम्पियन सम्मानित

पोखरा । नेपाल ओलम्पियन्स संघको आयोजनामा शनिबार पोखरामा नेपाली ओलम्पियनको पुनर्मिलन भएको छ । तीनदिने कार्यक्रमअन्तर्गत दोस्रो दिन शनिबार वाराहीघाटमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उनीहरुलाई स्वागत तथा सम्मान गरे । त्यसअघि प्रभातफेरी भएको थियो ।

मेयर आचार्यले पोखराको विकास पर्यटनसँगै खेलकुदबाट समेत हुने विश्वास व्यक्त गरे । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्माले ओलम्पियनहरुलाई स्वागत गर्दै राष्ट्रको लागि खेल्ने खेलाडीहरुलाई राज्यले उचित सम्मान गर्न नसकेको टिप्पणी गरे । संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टल नेपालका पहिलो ओलम्पियन क्या. रामप्रसाद गुरुङसहित करिब ५० जना ओलम्पियनलाई सम्मान गरिएकोे बताए ।

Advertisement

प्रभातफेरी सेन्टर प्वाइन्ट हुँदै वाराही घाटमा पुगेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल ब्याण्डबाजासहित उपस्थित थियो । विभिन्न खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलकुदकर्मी पनि उपस्थित थ्एि ।

ओलम्पियनको सम्मानपछि फेवातालमा डुंगा सयर गराउँदै तालवाराही मन्दिर दर्शन गराइएको कार्यक्रमका व्यवस्थापक पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए । गत वर्ष असारमा काठमाडौँमा यस्तो कार्यक्रम भएकोमा पहिलो पल्ट उपत्यका बाहिर पोखरामा यो कार्यक्रम भएको हो ।

यस्तै गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरुको अन्तक्र्रिया भएको छ । आइतबार संघको वार्षिक साधारणसँगै समापन हुनेछ । सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पुर्नमिलन कार्यक्रम गरिएको हो ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको पाइन्छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो ।

More News last news
Loading...