शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौं नागरिकको करोडौं रकम ठगी प्रकरणको अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ ।

प्रहरीले ठगी र संगठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । हिजो मात्रै ३ दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने बताउनुभयो ।

Advertisement

घटनामा १०६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ । प्रहरी स्रोतका अनुसार ठगी र संगठित अपराधसहित केहीलाई लिखत सम्बन्धी कसुर (कीर्त्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन जान सक्ने बताइएको छ ।

घटनामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरज सहितका व्यक्ति फरार छन् ।

More News last news
Loading...