रुपन्देही । ‘सरकारी कर्मचारी हाजिर गरेबापत तलव र काम गरेबापत कमिसन लिन्छन’ भन्ने आम बुझाइ बन्न पुगेको छ । दैनिकजसो आउने कमिसन र घुसका समाचारले यसलाई पुष्टि गर्छ । बुद्धजन्मस्थल लुम्बिनीमा कमिसनकै कारण देशकै सबैभन्दा ठूलो ध्यानकेन्द्र हस्तान्तरण नहुँदै चुहिएको छ ।
हरेक ठेक्कादेखि संरचना पुनर्निर्माणमा कमिसनको खेल हुने गरेको कोषका पदाधिकारी र कर्मचारी बताउँछन् । ठेक्का लगाउँदादेखि नै सेटिङमा माहिर लुम्बिनी विकास कोषका योजना प्रमुख ई.सरोजकुमार भट्टराईले पछिल्लो पटक यहाँ निर्माण भएको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभाहलमा कमिसनको खेल सुरु गरेका छन् ।
पछिल्लो समय लुम्बिनी क्षेत्रमा एउटा उखान नै छ ‘जति विकास निर्माणको काम हुन्छ, त्यती नै भट्टराई र उपाध्यक्ष अवधेशकुमार त्रिपाठीलाई लाभ हुन्छ ।’ ध्यानकेन्द्र सुरुवातदेखि मोटो रकम कुम्ल्याएको आरोप लागेका भट्टराई पछिल्लो पटक ध्यानकेन्द्रमा वाटर प्रुफिङ गरेर पुनः कमिसन खाने चक्करमा लागेका छन् ।
परामर्शदाताले निर्माण सुरु गर्नुभन्दा पहिला नै अन्तर्राष्ट्रिय सभाहल तथा ध्यानकेन्द्र निर्माणमा वाटर प्रुफिङ गर्न सुझाव दिएका थिए । तर, यसलाई बेवास्ता गरी दुईचरणमा करिब ६४ करोड खर्चेर ध्यान केन्द्र निर्माण गरिएको थियो । तर, निर्माण सकिएर हस्तान्तरण नहुँदै ध्यान केन्द्र चुहिएको छ । हल चुहिएपछि अहिले योजना प्रमुख र उपाध्यक्ष त्रिपाठीको चर्को आलोचना भइरहेको छ ।
चैत १७ गते वर्षा भएपछि अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रको छतका विभिन्न ठाउँबाट पानी चुहिएको थियो । ध्यान केन्द्रको छत कोरियन प्रविधिको इपीएस सेन्डविज प्यानल प्रयोग गरेर छाता आकारमा निर्माण गरिएको छ ।
यो प्रविधिबाट मुलुकमै पहिलोपल्ट यति ठूलो आकारमा सभाहल तथा ध्यानकेन्द्र बनाइएको हो । तर, ध्यानकेन्द्र निर्माण गर्ने बेला परामर्शदाताले दिएको सुझावलाई बेवास्ता गर्दै कर्मचारी र पदाधिकारी सेटिङमा तल्लीन हुँदा अहिले समस्या आएको स्रोतको दाबी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
