बुढीगण्डकी आयोजनाको १ अर्ब ४० करोड अन्तै रकमान्तर, एक महिनामै बाँडियो ६५ लाख

काठमाडौं l सरकारले फागुनमा १ अर्ब ६५ करोड रूपैयाँ रकमान्तर गरेको छ। उक्त रकमान्तरमध्ये सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको बजेटबाट १ अर्ब ४० करोड रूपैयाँ काटेर अन्तै रकमान्तर गरेको हो।

आयोजनाको ४० करोड रूपैयाँ नारायणी नदी व्यवस्थापन आयोजना, चितवनको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणमा र १ अर्ब रूपैयाँ सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

Advertisement

बजेटमा विनियोजन भएको एउटा शीर्षकको रकम अर्को शीर्षकमा सारेर खर्च गर्नुलाई रकमान्तर भनिन्छ। सरकारले बुढीगण्डकी आयोजनाकै बजेटबाट १ अर्ब रूपैयाँ घटाएर सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा रकमान्तर गरेको हो।

उत्तरदक्षिण राजमार्गको बजेटबाट १० करोड रूपैयाँ मदन भण्डारी राजमार्गमा र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको १५ करोड रूपैयाँ सूर्यविनायक-धुलिखेल र कोटेश्वर-बानेश्वर-त्रिपुरेश्वर सडकमा रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले फागुनमा ग्यास लिक भएको आगलागीमा जलेर घाइते कांग्रेस सांसद चन्द्रकान्त भण्डारीलाई उपचार खर्चबापत ५५ लाख ८८ हजार १६४ रूपैयाँ दिएको छ। लमजुङका रामबाबु अधिकारी, सिराहाका विश्वेन्द्र पासवान र कालीकोटका संग्रामे सार्कीलाई ३/३ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

More News last news
Loading...