पोखरा । स्याङ्जा पुतलीबजारको काजिमान हरिटीका माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी, शिक्षकको बृहत्त पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ। सोहि विद्यालयका पूर्व विद्यार्थी तथा संघीय सांसद् राजु थापाको प्रमूख आतिथ्यतामा हिजो (शनिबार) पुतलीबजार नगरपालिका–३ कुमाल गाउँमा अवस्थित विद्यालयमा भव्य पुर्नमिलन कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई–अनुप श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व शिक्षकहरू र आजीवन सदस्य र विद्यालयको शैक्षिक र भौतिक पक्षमा योगदान दिएकाहरूलाई दोसल्ला ओडाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा संघीय सांसद्, नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका प्रमुख अतिथि थापाले आफूँ पढेको विद्यालय काजिमानको छुट्टै इतिहास रहेको भन्दै विद्यालयको विकासका लागि आफूँ पूर्ण रुपमा खटिने बताए । थापाले सामुदायिक विद्यालयको गुणस्तर उकास्न आफुँ सँधै सकारात्मक रहेको, त्यसमा पनि आफैँले विद्या आर्जन गरेको विद्याको मन्दिर संरक्षण र विकासमा लागिरहने प्रतिबद्धता जनाए ।
स्कुलको विकासमा खटिन्छौँ : जनप्रतिनिधि
विशिष्ट अतिथि प्रदेश सांसद् सुधिर पौडेलले सामुदायिक विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरू पढ्ने भएकाले यसको गुणस्तर वृद्धि नगरेसम्म शिक्षामा राज्यको लगानी खेर जाने अवस्था रहेको बताए ।
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले काजिमानले देखेको शिक्षाको सपना पुरा गर्ने जिम्मा हामी सबैको रहेको भन्दै आफूले सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि गर्न विभिन्न तरिकाले प्रयास गरिरहेको बताए ।
कार्यक्रममा पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम बराल, नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सदस्य कुमबहादुर गुरूङ, प्रअ ऋषिराम शर्मा, पूर्व प्रअ रामकरण चौधरी, पूर्व विद्यार्थी ध्रुव शर्मा, त्रिभुवन आदर्श माविका प्रअ मुक्ति रेग्मी, पूर्व प्रअ ओमप्रकाश शर्मा, विद्यालयका शिक्षक युवराज पौडेल लगायतले बोलेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
