काठमाडौँ । भारतको सर्वोच्च अदालतले एउटा मुद्दाको फैसलाका सन्दर्भमा सिक्किमका नेपालीभाषी समुदायलाई “विदेशी मूलका” भन्दै गरेको टिप्पणीलाई हटाएपछि उक्त क्षेत्रमा जारी आन्दोलन हाललाई रोकिएको त्यहाँस्थित सञ्चारकर्मीले बताएका छन्।
सिक्किमका ‘पुराना बसोवासी’हरूको आयकर छुटसम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले जारी गरेको आदेशमा उक्त राज्यमा बसोबास गर्ने नेपालीभाषीलाई “विदेशी मूलका” भनेर टिप्पणी गरिएपछि त्यहाँ प्रदर्शनहरू भएका थिए। बुधवार सिक्किमको सत्ताधारी दलसहित विपक्षी दल र नागरिक समाजले संयुक्त रूपमा सिक्किम बन्दको आह्वान गरेका थिए। त्यसलाई सिक्किमवासीले साथ दिए।
भारतीय सर्वोच्च अदालतले बुधवारै आफ्नो पुरानो टिप्पणी सच्च्याएपछि आन्दोलन रोकिएको गान्तोकमा रहेका भ्वाइस अफ सिक्किमका सम्पादक नितेश आर प्रधानले बीबीसीलाई बताए।
उनले भने, “बुधवारको बन्दमा सबैले सहयोग गरेका थिए। त्यसै दिन साँझ सर्वोच्च अदालतले आफ्नो फैसलामा पुनरवलोकन गरेर सच्यायो। त्यसले सिक्किमका नेपालीलाई विदेशी मूलका भन्ने जुन आक्षेप लागेको थियो त्यो अन्त्य भयो।”
“अहिले यहाँ सबै खुसी छन् र आन्दोलन पनि शान्त भएको छ।” सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि बिहीवार सिक्किम विधानसभालाई सम्बोधन गर्दै “बुधवारको दिन सिक्किमका जनताका लागि ऐतिहासिक दिन” भएको बताएका छन्। बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
