गण्डकी l गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।
‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन यही पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अधिवेशनअघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी छ। प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार गण्डकी प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत जिल्ला निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी गरिएको हो।
प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेका सबैलाई सपथ खुवाउने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र नेकपा एकीकृत समाजवादीका एक सांसद छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
