पाल्पा l पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना मानिस बिरामी भएका छन्। गत शनिबार बगनासकाली–१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन्।
गाउँमा सबै घरमा तीन/चार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन्। बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए।
भोज खाएर बिरामी भएकालाई उपचार गर्न गाउँपालिकाले चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ। गाहाको छोरीको बिहेमा भोज खाएर बिरामी परेकाको उपचारका लागि पालिकाले स्वास्थ्यकर्मी खटाएको हो।
भोज खाएर बिरामी भएकाको पहिचान गर्न र उपचार गर्न एक जना चिकित्सकको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मी खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताइन्। बिरामी परेकामध्ये सोमबार र मङ्गलबार गरी १५ तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका छन्।
बिरामी परेकामा ‘फुड प्वाइजनिङ’ को समस्या देखिएको उनले बताए। भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, आलु र मुलाको अचार परिकार थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
