काठमाडौं l नेपाली बजारमा इलेक्ट्रिक बाइक तथा स्कुटर र कारहरुको आयात बढ्दै गएको छ । पछिल्लो समयमा बैंकहरुले समेत यी सवारी साधनका लागि अटो लोन उपलब्ध गराउने नीति लिएका छन् ।
नेपाल राष्ट्र बैंकले तोकेको नीति अनुसार इलेक्ट्रिक सवारी साधनका लागि बैंकहरुले सवारी साधनको मूल्यको ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउने गरेका छन् । त्यसो भयो भने ग्राहकले शुरुमा डाउन पेमेन्टको रुपमा २० प्रतिशत मात्र रकम तिरेर बाँकी रकम किस्ताको रुपमा तिर्ने गरी सवारी साधन प्रयोग गर्न सक्छन् ।
कम्बसन इन्जिनबाट चल्ने सवारी साधनमा भन्दा इलेक्ट्रिक सवारी साधनका लागि बैंकहरुले दिने कर्जाको दर पनि सस्तो गरेका छन् । बैंकहरुले भदौ महिनाको लागि प्रकाशित गरेको ब्याजदर हेर्दा पनि यो कुरा थाहा पाउन सकिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकले गाडी कर्जा भनेर बेस रेट भन्दा बढीमा ५ प्रतिशत सम्मको ब्याजदर लिने नीति लिएको छ । तर विद्युतीय सवारी साधन कर्जामा भने ३ देखि ४ प्रतिशत सम्म मात्र ब्याजदर लिने बताएको छ । बैंकको बेस रेट ७.८६ प्रतिशत छ ।
नविल बैंकले निजी र कमर्सियल गाडीका लागि बेस रेटमा ७ प्रतिशत सम्म थपेर अटो लोन उपलब्ध गराउने बताएको छ । इलेक्ट्रिक भेइकलका लागि भने ६ प्रतिशत मात्र लिने बैंकको नीति छ । नविल बैंकको बेस रेट ८.७७ प्रतिशत छ ।
नेपाल बैंक लिमिटेडले बेस रेटमा ५ प्रतिशत सम्म थपेर विभिन्न प्रकारको अटो लोन उपलब्ध गराउने भए पनि इलेक्ट्रिक भेइकलका लागि भने ४ प्रतिशत सम्म मात्र थप्ने बताएको छ । बैंकको बेस रेट ७.९९ प्रतिशत छ ।
एनएमबी बैंक कुनै समयमा इलेक्ट्रिक गाडीका लागि कर्जा दिने प्रक्रियामा निकै नै आक्रामक तरिकाले लागेको थियो । हाल बैंकले बेस रेटमा ६ प्रतिशत सम्म जोडेर कर्जा दिने बताएको छ ।
बैंकले टाटा नेक्सन ईभी किन्न चाहनेहरुका लागि शुरुमा ८ लाख रुपैयाँ मात्र बुझाएर गाडी लिन सकिने स्किम समेत सार्वजनिक गरेको थियो । बैंकले समय समयमा इलेक्ट्रिक भेइकलका लागि छुट्टै स्किम समेत ल्याइरहेको हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
