काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ।
नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह जनकपुर आएकै दिन मङ्गलवार मधेस प्रदेश सरकारले आन्दोलन रोकेको हो। मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गर्नुभएको छ ।
मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गर्नुभएको हो । महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आउनुभएको हो ।
त्याे कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी हुनुभएको थियो । प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो ।
प्रधानमन्त्री देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो ।
चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
