लमजुङ l अविरल वर्षापछि आएको पहिराेले गएरातिदेखि लमजुङको डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
डुम्र-बेसीसहर सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा र मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिराे जाँदा बेसीसहर-चामे सडक अवरुद्ध भएको हो ।
वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो।
उहाँका अनुसार पहिराेले अवरुद्ध बनाएको सडक एक्स्काभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । सडक अवरुद्ध हुँदा बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र त्यहाँबाट बेसीसहर आउने यात्रुहरु मारमा परेका छन् ।
यस सडक ४२ किलोमिटर दूरीको छ । त्यस्तै, लमजुङ-मनाङ जोड्ने बेसीसहर-चामे सडकअन्तर्गत रामबजारमा पहिराेले अवरुद्ध भए पछि गाडी चल्न सकेका छैनन् । सडक माथिबाट ढुङ्गामाटाेसहितको ठूलाे पहिराे खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
