अभियान लघुवित्तको आइपिओमा आजदेखि आवेदन दिन पाइने

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

Advertisement

कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ । निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ।

More News last news
Loading...