बेइजिङमा फेरि बढ्यो कोरोना, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पोजेटिभ

एजेन्सी/बेइजिङ l बेइजिङमा पछिल्लो तीन सातामा उच्च संख्यामा दैनिक कोभिड सङ्क्रमित देखिएका छन् । सङ्क्रमित बढेसँगै राजधानीमा पुनः केही प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । तर, बेइजिङमा सांघाइमा जस्तो कडाइ नगरिने जनाइएको छ ।

कठोर प्रतिबन्धपछि सांघाईमा केही साताअघि खुकुलो बनाइएको थियो । बेइजिङमा सोमबार एकै दिन ७४ जनामा संक्रमण देखिएको थियो । यो २२ मे पछिकै सबैभन्दा धेरै संख्या हो ।

Advertisement

उपप्रधानमन्त्री तथा महामारी नियन्त्रणसम्बन्धी देशका उच्च अधिकारी सुन चुनलानले महामारीलाई सक्दो चाँडो नियन्त्रण गर्न बेइजिङबासीलाई अनुरोध गरेका सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

फेरि सङ्क्रमण बढेसँगै प्रमुख चिनियाँ सहरहरूमा यसअघि लगाइएका प्रतिबन्ध पुनः लगाउने तयारी भएको छ । सोमबार पुनः सञ्चालनको योजनामा रहेका बेइजिङका विद्यालय खुल्न ढिलाई गरिएको थियो भने सम्पूर्ण खेलकुद प्रतियोगित रोकिएका थिए ।

चीनले अंगिकार गर्दै आएको कोभिड शून्य नीतिका कारण देशले आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वी बेइजिङको चायोयाङ जिल्लामा सोमबारदेखि तीन दिने सामूहिक कोभिड परीक्षण भइरहेको छ।

क्यानडाका प्रधानमन्त्री कोभिड पोजेटिभ

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् ।

प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेकाे जनाएका छन् । उनले काेभिड खाेप नलगाएकाहरूलाई पनि खाेप लगाउन आह्वान गरेका छन् ।

‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देशन पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ । तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस । बुस्टर डोज लगाउनुहोस’, ट्रुडोले एउटा ट्वीटमा भनेका छन् । ट्रुडोलाई यसअघि जनवरीमा कोभिड भएको थियो ।

More News last news
Loading...