पोखरा महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेभित्रकै समूह एमालेबाट मेयर उम्मेदवार कृष्णबहादुर थापालाई हराउन लागेको पाइएको छ ।
गण्डकी प्रदेशमा एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह छ । एमालेबाट पोखराको मेयर उम्मेदवार थापा खगराज समूहका हुन् । उनलाई मेयरमा हराउन पृथ्वीसुब्बा समूहका नेता-कार्यकर्ता लागेका हुन् ।
पृथ्वीसुब्बा समूहका कार्यकर्ताले धनराजलाई भोट मागेको दुईवटा अडियो सार्वजनिक भएको छ । त्यसमा एउटा अडियो एमाले केन्द्रीय सदस्य राजीव पहारीको सचिवालयको हो । पहारी पृथ्वीसुब्बा समूहका हुन् । राजीवका स्वकीय सचिव मनोज पहारीले कृष्ण थापालाई मत नदिन भन्दै फोनमा धनराज आचार्यलाई मत मागेको अडियो सार्वजनिक भएको छ । कृष्ण थापाले टिकट पाएलगत्तै मनोज उनको विपक्षमा खुलेर लागेका थिए ।
थापालाई हराउन एमालेकै समूह लाग्नुको कारण हो नेता दीपक पौडेलको टिकट खोसिनु । पोखराको मेयरको टिकट सुरुमा नेता पौडेलले पाएका थिए । पछि उनको सुन चोरेको आरोप लागेपछि टिकट खोसेर कृष्ण थापालाई दिइएको थियो । दीपक पृथ्वीसुब्बा समूहका हुन् । आफ्नै समूहको टिकट खोसेर खगराज समूहलाई दिएपछि पृथ्वीसुब्बानिकट नेता-कार्यकर्ता कृष्ण थापालाई हराउन लागेका हुन् ।
सार्वजनिक भएको अडियोमा कृष्ण थापालाई हराउन पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य राजीव पहारी, केन्द्रीय सदस्य एवं इन्चार्ज भीम कार्की, कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, एमाले प्रदेश कार्यालय सचिव माधव बाँस्तोला लागेको दाबी गरिएको छ । माथि नाम उल्लेखित व्यक्ति सबै खगराजइतर हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
