एमाले अध्यक्ष ओलीले पठाए हलेसीमा चार लाख भेटी

खोटाङ l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चार लाख भेटी चढाएका छन् । गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हेलिकोप्टरबाट हलेसी ओर्लिएका अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरे अनुसार हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख भेटी पठाएका हुन् ।

अध्यक्ष ओलीले पठाएको भेटी रकम रामनवमीको अवसरमा आइतबार एमाले केन्द्रीय सदस्य एवं खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले हलेसी महादेव विकास समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यावस्थापन समितिका अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेका छन् ।

Advertisement

अध्यक्ष ओलीले पठाएको भेटी नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको औपचारिक कार्यक्रमका बीच मन्दिर र गुम्बालाई हस्तान्तरण गरिएको हो । मारातिका गुम्बामा अध्ययनरत विद्यार्थीको पठन–पाठन साथै प्रोत्साहनका लागि अध्यक्ष ओलीले दुई लाख पठाएको एमाले केन्द्रीय सदस्य राईले बताइन् ।

भेटी हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला सचिव कुमारप्रसाद आचार्य, उप–सचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्य, एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङ राई, हलेसी महादेव मन्दिर व्यावस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राई लगायतको उपस्थिति रहेको थियो ।

More News last news
Loading...