पोखरा । होटेल संघ पोखरा नेपालले आयोजना गर्ने नयाँ वर्ष महोत्सवमा निम्तो गर्दै आयोजक टोली काठमाडौं पुगेको छ। फेवाताल किनारमा आयोजना हुने १७औं संस्करणको महोत्सवका लागि निम्तो बाँड्न टोली काठमाडौं गएको हो। यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म महोत्सव हुँदैछ।
कोरोना संक्रमणका कारण २ वर्ष हुन नसकेको महोत्सव यो वर्षबाट पुनः सुरु गरिएको हो । संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका पाहुनलाई होटेलको विलमा ३० प्रतिशत छुट गरिएको भन्दै आन्तरिक पर्यटकको रूपमा पोखरा घुम्न आग्रह गरे ।
महोत्सवमा स्थानीय, आन्तरिक तथा बाह्य पर्यटक गरी एक लाख भन्दा बढीले सहभागिता जनाउने अनुमान आयोजकको छ । अर्थतन्त्र चलायमान बनाउने र पर्यटकीय क्षेत्रहरू खुला रहेको सन्देश दिन यो वर्ष महोत्सवलाई बढी प्राथमिकताका साथ मनाउन लागिएको छ ।
होटेल संघ नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष विनायक शाहले देशमा पर्यटक संख्या बढाएर आर्थिक गतिविधि बढाउनुपर्ने बताए । सबै पर्यटकीय क्षेत्रहरूले छुट्टाछुट्टै गतिविधि गर्न र पर्यटक आकर्षित गर्न आवश्यक रहेको उनको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
