बीबीसी । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै प्रभावित वित्तीय स्वास्थ्य व्यवस्थापन गर्नका लागि ऋण लिन प्रक्रिया अघि बढाइएको नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्।
अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहजतामा निगमले राष्ट्रिय वाणिज्य ब्याङ्कबाट ”दुई अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अघि बढाइएको” सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए।
राष्ट्रिय वाणिज्य ब्याङ्कका सहायक कार्यकारी अधिकृत कविराज अधिकारीका अनुसार केही सहुलियतसहित निगमलाई व्यावसायिक ऋण उपलब्ध गराउने विषयमा कुराकानी भइरहेको छ। ”नियम अनुसार प्रत्याभूति र सुरक्षा भयो भने दिन सक्छौँ। यो त ब्याङ्किङ अभ्यास भइहाल्यो,” अधिकारीले भने।
नेपालमा प्रत्येक दिन दैनिक झन्डै ५,००० किलोलिटर पेट्रोल, ८,५०० किलोलिटर डिजेल र एक लाख २० हजार सिलिन्डर एलपी ग्यास खपत हुने गरेको निगमको भनाइ छ ।
कार्कीका अनुसार दैनिक नोक्सानी ३१ करोड रुपैयाँ रहेको कारण निगम आर्थिक सङ्कटमा परेको हो। बढ्दो मूल्यका कारण आर्थिक सङ्कट उत्पन्न हुन थालेसँगै यसै साता निगमले फेरि मूल्य समायोजन गरेको छ।
हाल बजारमा प्रतिलिटर पेट्रोलको मूल्य रु १६० र डिजेल/मटितेलको मूल्य रु १४३ निर्धारण गरिएको छ। हवाई इन्धनको मूल्य पनि बढाइएको छ।
गत साता इन्डियन आयल कर्पोरेसन आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा बजार मूल्य निर्धारण गर्दा पेट्रोलको झन्डै रु १८३ प्रतिलिटर, डिजेलको रु १७१, मटितेलको रु १३६, हवाई इन्धनको रु १८० र एलपी ग्यासको रु २,५२५ रहने निगमको भनाइ छ।
र यही मूल्यमा बजारमा तेल बिक्री गर्ने हो भने निगम घाटा वा नाफाविना सहज रूपमा तेल आपूर्ति गर्न सक्ने अवस्थामा रहने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
