सर्लाहीको धन्कौलमा भीषण आगलागी, १३ घर जलेर नष्ट

सर्लाही । जिल्लाको धन्कौल गाउँपालिका-५ मा भीषण आगलागी भएको छ। आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो धनकौल गाउँपालिका-५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । एउटा घरमा आंशिक क्षति पुगेको छ । दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरुभएको प्रत्यक्षदर्शीको भनाई छ । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो ।

Advertisement

आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका-५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए । वडाध्यक्ष महतोको अनुसार आगलागीबाट अधिकांश फुसको छानो भएका कच्ची घर जलेका छन् ।

आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको हो । आगलागीको एकिन कारण नखुले पनि खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ। आगलागीबाट स्थानीय एक्कासि आगलागी भएको स्थानीयको भनाई छ।

सोही समयमा तीव्र गतिमा हावा चलेको कारण आगलागी नियन्त्रणमा आउन केही ढिला भएको र धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको थियो।

आगलागी स्थानीय, सुरक्षाकर्मी र सदरमुकाम मलङ्गवा तथा हरिवन नगरपालिकाको वारुण यन्त्रको सहयोगले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए।

क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीपछि विपन्न पीडितहरूको बिचल्ली भएको छ। पीडितहरू छिमेकीको घरमा शरण लिएर बसेका वडाध्यक्ष महतोले जानकारी दिए।

More News last news
Loading...