काठमाडौँ, २८ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २० युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
विस २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको सो गाउँपालिकास्थित वडा नं ३ का २० युवाहरु माओवादीप्रति वितृष्णा पैदा भएर आज काँग्रेस प्रवेश गरेका हुन् ।
काँग्रेसमा भर्खरै प्रवेश गरेका युवाहरुलाई काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् सांसद प्रकाशचन्द्र दवाडीले टिका र खादा ओढाएर स्वागत गर्नुभयो । स्वागत कार्यक्रममा सांसद दवाडीले काँग्रेसले कहिल्यै झुटको राजनीति नगर्ने र गोरखाको विकासमा निरन्तर लाग्ने बताउनुभयो ।
“काँग्रेस कहिल्यै झुट बोल्दैन, बोलेको कुरा पुरा गर्छ, जनताको समस्या समाधानका लागि काँग्रेस सँधै लाग्छ,”– उहाँले भन्नुभयो । नेता दवाडीले शिक्षा, स्वास्थ्य, यातायात र खानेपानी हरेक जनताको आवश्यकता भएकाले काँग्रेसले मात्र उक्त आवश्यकता पुरा गर्न सक्ने बताउनुभयो ।
सांसद दवाडीले अमेरिकी सहयोग सम्झौता (एमसीसी) ले नेपालको विकासमा ठूलो सहयोग पुग्ने भएकाले उक्त आयोजनालाई काँग्रेसले अगाडि बढाएको उल्लेख गर्नुभयो । “एमसीसीमा अमेरिकी सेना आउँछ भनेर केही राजनीतिक दलका नेताहरुले झुटको खेती गरिरहेका छन्, एमसीसी देशको हितमा छ,”- उहाँले भन्नुभयो ।
उहाँले गण्डकी प्रदेश सरकारले महिलाहरुको स्तन तथा पाठेघरमा हुने क्यान्सरको निशुल्क उपचार, गण्डकी प्रदेशबासीलाई निशुल्क रगतको व्यवस्थालगायतका लोकप्रिय कार्यक्रम अगाडि बढाएको भन्दै यसलाई अगाडि बढाउन युवाहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।
नेपाली काँग्रेस बारपाक सुलिकोट वडा नं ३ का उपसभापति ज्ञानबहादुर गुरुङले युवाहरुको प्रवेशले बारपाक सुलिकोट काँग्रेसको मनोवल बढेको बताउनुभयो । बारपाक सुलिकोटको विकासका लागि युवाहरु एकजुट हुनुपर्ने उहाँको भनाई थियो।
आज काँग्रेस प्रवेश गर्नेहरुमा राम थापामगर, अनिल गुरुङ, सन्तोष गुरुङ, बेलबहादुर विक, प्रकाश मगर, निमेश विक, सुनिल विक, चन्द्रबहादुर सुनार, रोशन विक, नविन विक, सन्जित विक, विनोद विक, प्रकाश गुरुङ, रेशम तामाङ, विजय तामाङ, मनोज गुरुङ, रिजन गुरुङ, कुशल विकलगायत रहेका छन् । कार्यक्रमको सञ्चालन काँग्रेस गोरखाका नेता पूर्णबहादुर गुरुङले गर्नुभएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
