सरकारले पेट्रोलियम पदार्थ किन्न निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ दिने

काठमाडौँ । घाटामा रहेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि सरकारले ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको निगमलाई सरकारले पेट्रोलियम पदार्थको खरिदका लागि उक्त रकम उपलब्ध गराउने भएको हो ।

Advertisement

आज (सोमबार) बसेको मूल्य स्थिरीकरण कोषको बैठकले निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतको नपुग चार अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको स्रोतले जनाएको छ।

गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पनि १५ दिनमा झण्डै दुई अर्ब ५० करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ।

निगमले आईओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ताबापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । निगमले प्रत्येक महिनाको आठ र २३ तारिखका दिन आईओसीलाई किस्ता बुझाउँदै आएको छ।

यसअघि स्थिरीकरण कोषबाट पनि गएको जनवरी महिनामा निगमलाई एक अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराइएको थियो।

More News last news
Loading...