रुसी बम हमलामा ७ जना युक्रेनीको ज्यान गयो, १९ जना बेपत्ता
पाँच जहाज र एउटा हेलिकोप्टर खसालेको युक्रेनी सेनाको दाबी
मस्को । रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ। ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्।
सो हमलामा १९ युक्रेनी हराइरहेका छन् । त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को हमलामा थप एक जनाको मृत्यु भएको छ । रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ।
केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरुमा जनाइएको छ ।
पाँच जहाज र एउटा हेलिकोप्टर खसालेको युक्रेनी सेनाको दाबी
किभ–पूर्वी युक्रेनमा पाँच ओटा रुसी जहाज र एउटा हेलिकोप्टर खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । ‘संयुक्त फौज कमान्डअनुसार आज २४ फेब्रुवरीमा संयुक्त फौज कारबाहीको क्षेत्रमा आक्रमणकारीको पाँच जहाज र एउटा हेलिकोप्टर गोली हानेर खसालिएको छ,’ युक्रेनी सेनाले भनेको छ।
यसबारे रुसी सेनाले कुनै टिप्पणी गरेको छैन् । यसअघि रुसी फौजले राजधानी किभनजिककैका विमानस्थलहरुमा क्षेप्यास्त्र हमला गरेको जनाएको थियो।
एउटा फेसबुक सन्देशमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्। तर, रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको विवरण अस्वीकार गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
