आङ खसेका महिलाको उपचारमा नगरपालिकाको निःशुल्क घुम्ती शिविर

खोटाङ । आङ खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घुम्ती शिबिर सञ्चालन भएको छ।

आङ खसेर दर्दनाक दिनचर्या बिताइरहेका महिलालाई लक्षित गर्दै नगरपालिकाले विभिन्न वडामा विशेष शिविर तथा पाठेघरको क्यान्सरको जाँचका लागि भीआईए क्याम्प सुरू गरेको हो।

Advertisement

रोग लुकाएर बसेका पीडित महिलाको पहिचान गर्ने र उपचार सेवा सहजै उपलब्ल गराउने लक्ष्यका साथ १ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाबाट सुरू भएको घुम्ती शिविर मंगलबार हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पुगेको छ।

बाहुनीडाँडाको शिविरमा आएका ७६ जना सेवाग्राहीमध्ये आङ खसेका आठ जनामा रिङप्रेसरी राखिएको छ। भीआईए जाँचका क्रममा आङ खस्ने समस्याका कारण एक महिलामा क्यान्सरको लक्षण देखिएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए।

यस्तै, २ फागुनमा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सञ्चालन गरिएको शिविरमा ५२ जना सेवाग्राही लाभान्वित भएका छन् । मंगलटारको शिविरमा ६ जनालाई रिङप्रेसरी राखिएको छ। सल्लेको शिवरमा ९० जनाभन्दा बढी सेवाग्राही आएको सह–संयोजक घिमिरेले बताए।

सल्लेमा पुरै आङ खसेका दुई वृद्धाको पहिचान गरिएको छ। पुरै आङ खसेको र उमेर हदका कारण उनीहरूको शल्यक्रिया गर्न नमिल्ने भएकाले घरैमा पुगेर रिङ प्रेसरी राख्ने तयारी गरिएको छ।

उनीहरूलाई अटो रिक्सामा राखेर समेत शिविरमा पुर्‍याउन नसकिएको सह-संयोजक घमिरेले बताए। घुम्ती शिविर हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौैलेको नवलपुरमा पुगेर टुंगिने छ।

पाठेघरको क्यान्सर भएका महिलालाई पायक पर्ने शहरमा गएर उपचार गर्न यातायात खर्चबापत जनही पाँच हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

घुम्ती शिबिरका लागि मेयर इवन राई, उपमेयर विमला राई, स्वास्थ्य शाखा संयोजक खेमराज आचार्य, सह–संयोजक घिमिरे, स्वास्थ्यकर्मी लगायतको टोली हिँडिरहेका छन् ।

More News last news
Loading...