लुम्बिनी र सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी, गण्डकीमा मतदान सकियो

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेसका नारायण मिश्र विजयी भएका हुन् ।

एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

Advertisement

लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।

उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

गण्डकीमा सकियो मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।

सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’ राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी भएनन् । २२९ मतदातामध्ये दुई जनाले मतदान नगरेका हुन् ।

अर्का एक जना मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट हुन् । उनी हाल अमेरिकामा रहेको परिवार स्रोतले जनाएको छ । विष्ट यसअघिको राष्ट्रियसभा निर्वाचनमा पनि सहभागी थिएनन् ।

स्वतन्त्र सांसद राजीव गुरुङउर्फ दीपक मनाङेले सबैभन्दा अन्तिममा आएर मतदान गरेका हुन् । गण्डकीमा सत्ता गठबन्धन निकै बलियो छ । गठबन्धनको तीन हजार ३०० मतभार छ भने एक्लै लडेको एमालेको दुई हजार ५५६ मतभार छ । विष्ट स्वतन्त्र चुनाव जितेर एमाले छिरेका थिए । उनी नआएपनि उनको सट्टा राप्रपाकी उपमेयरले एमालेलाई मतदान गरेको बुझिएको छ ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेद्वार छन् । कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार उम्मेद्वार छन् । एमालेबाट भने महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दिएका थिए ।

गत २० फागुनबाट गण्डकीमा दिनानाथ शर्मा, खिमबहादुर विक र शान्तिकुमारी अधिकारीको पद रिक्त हुन लागेको हो । मतदान सकिएकाले बुधबारै मतगणना हुने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

More News last news
Loading...