एमाले कास्कीमा दोस्रो तहको गुट हाबी, अध्यक्षमा ५ जनाको दाबी

पोखरा l नेकपा एमाले कास्की १०औं अधिवेशन शुक्रबार सुरु हुँदै छ । केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक कार्यक्रम सकेर यसपालि सिधै निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने र नभए मतदान प्रक्रियामा जाने नेताहरूले बताएका छन् । अधिवेशनको संघारमा एमाले कास्कीको नेतृत्व लिन हानथाप सुरु भएको छ । अध्यक्षमा पाँच जनाको दाबी छ ।

Advertisement

एक महिनाअघि कार्यवाहक अध्यक्ष बनेका मनबहादुर गुरुङ एक कार्यकाल पूर्ण अध्यक्ष बन्ने तयारीमा छन् भने हालका सचिव दामोदर वैरागीले समेत आकांक्षा देखाएका छन् । पुराना नेता जगन्नाथ बास्तोला, तेजनारायण अधिकारी र माधव बास्तोलाको नाम अध्यक्षको आकांक्षीमा अघि छ । अधिकारी भने सचिवको बार्गेनिङका लागि अध्यक्ष दाबी गरेको बताइन्छ ।

आकांक्षी जति भए पनि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने पक्का छ । गुरुङ र वैरागीबीचमा प्रतिस्पर्धा हुने देखिन्छ । गुरुङ पूर्व मुख्यमन्त्री तथा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन् भने वैरागी केन्द्रीय सदस्य खगराज अधिकारी निकटका हुन् । कास्कीमा अधिकारी र गुरुङको गुट हाबी छ । नेताहरू छलफलमा छन् । आकांक्षी सबै नेताहरू केन्द्रमा केपी ओली निकट छन् ।

दुवै पक्षका आकांक्षीले सर्वसम्मत नेतृत्व छान्ने दाबी पनि छाडेका छैनन् । ‘नेताहरू सल्लाह गर्दै हुनुहुन्छ । सर्वसम्मत रूपमा कमिटी फर्मेसन हुन्छ,’ आकांक्षी गुरुङ भन्छन्, ‘नत्र त चुनाव हुन्छ ।’ अर्का आकांक्षी वैरागीले पनि सहमतिमा आफू तयार रहेको बताए । यद्यपि नेतृत्व दाबी भने छोडेका छैनन् ।

‘मेरो दाबी अध्यक्षमा छ । सर्वसम्मत हुने विश्वास लिएको छु,’ उनले भने । वैरागी टिमबाट सचिवमा बैनबहादुर अधिकारीको नाम सुनिएको छ भने गुरुङ गुटमा तेजनारायण अधिकारीको चर्चा छ।

एमालेको जिल्ला अधिवेशनमा सवा ९ सय प्रतिनिधि छानिएका छन् । ७२ वडा र जनवर्गीय संगठनबाट ९ सय १४ जना प्रतिनिधिले मताधिकार पाएका एमालेले जनाएको छ।

७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरू गठन भएका छन्।

More News last news
Loading...