हलेसी मन्दिरबाट १६ दिनमा ८ लाख आम्दानी

 

खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसीबाट १६ दिनमा ८ लाखभन्दा बढी आम्दानी भएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा ६ मंसिरदेखि २२ मंसिरसम्ममा दर्शनार्थी एवं पर्यटकबाट कूल ८ लाख ३९ हजार १९७ रुपैयाँ भेटी आम्दानी भएको हो।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीस्थित मन्दिरको प्रांगणमा रहेको दानपेटिकाबाट ३१ हजार ३४५, बसाहा गुफा दान पेटिकाबाट ३९ हजार ६९०, गणेश मन्दिर दान पेटिकाबाट ३६ हजार १००, चामल बिक्रीबाट १४ हजार ८८०, रुद्री लाखवत्ती लगायत अन्य सहयोगबाट १ लाख ९२ हजार २७७ र ढ्याके सतहीबाट ५ हजार ५०० रुपैयाँ आम्दानी भएको हो।

Advertisement

यस अवधिमा भएका खर्च कटाएर बाँकी रहेको ६ लाख २२ हजार ३६८ रुपैयाँ रकम माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए।

आम्दानी भएको रकममध्ये बिजुली, पानी, फोहोर व्यवस्थापन खर्च, सिसी क्यामेराको पिओई स्विच खरिद, वाला चतुर्दशी मेलामा अस्थायी कर्मचारी तलवभत्ता, भेटी गणना, अतिथि, खाजा, विभिन्न आर्थिक सहयोग लगायतमा गरी २ लाख १६ हजार ८२९ खर्च भएको सूचना केन्द्रले जनाएको छ ।

यसबीचमा दर्शनार्थीले भारु ६ हजार १६०, चाँदी १५१।६५ ग्राम, सुन २.८ ग्राम र अमेरिकन डलर १ चढाएको सूचना केन्द्रका प्रमुख राईले बताए।

हालसम्म हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा ८४ लाख १५ हजार ५७३ भेटी रकम जम्मा भएको छ। हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी तथा सुनचाँदीलाई आम्दानीको रूपमा बाँध्ने व्यवस्था मिलाइएको छ ।

More News last news
Loading...