चितवन पुगेर माधव नेपालले भने, एमाले इतिहासको विषय बन्दै छ

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्न लागेको टिप्पणी गरेका छन् । एमालेले चितवनमा हुन लागेको १०औँ महाधिवेशनको तयारी गरिरहेका बेला शुक्रबार चितवन आएका नेपालले सो गरेका हुन्।

जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण दिन चितवन आएका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चुनावमा कसले कसलाई पछार्छ भन्ने कुरा राष्ट्रिय सभाको चुनावमा देखिसकेको बताए । आगामी चुनावमा पनि मिलेरै जाने उनले बताए ।

Advertisement

‘कतिपय पार्टी र नेताको सातो गइसकेको छ । होस् गुम भइसकेको छ’, उनले भने, ‘समाजवादीको नाम सुन्ने बित्तिकै काम्छन् । कसले कसलाई पछार्छ भन्ने कुरा त अस्तिकै राष्ट्रिय सभाको चुनावमा देखिसक्यो । पहिल्यै परीक्षण भइसकेको छ । एमाले इतिहासको विषय बन्दै छ ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले १५ कात्तिकमा चितवन आएर पाँच दलीय गठबन्धनलाई एमालेले धोबीले लुगा पछारेझैँ पछार्नुपर्ने बताएका थिए ।

एमालेको महाधिवेशनको विषयमा आफूलाई कुनै चासो नभएको नेपालले बताए। एमालेको महाधिवेशनमा पाहुना भएर जान आफूलाई समय पनि नरहेको उनले बताए।

‘हामी डेमोक्रयाटिक पद्धतिबाट अघि बढ्ने मान्यता राखेको मान्छे । सबैको मान र सम्मान हुनुपर्छ भन्ने मान्यता राखेको मान्छे। त्यसो हुनाले नबोलाएको ठाउँमा पाहुना बन्नु हुँदैन। कसैको पाहुना हुनुपर्ने केही चासो छैन, मतलब पनि छैन। हामी आफ्नै काममा यति व्यस्त छौँ कि फुर्सदै छैन’, उनले भने।

जनता र कार्यकर्ताहरूको आकर्षण आफ्नो पार्टीमा देखिएको भन्दै उनले पार्टीको विकास देखेर धेरै मानिसमा इर्ष्या देखिएको बताए । इर्ष्या भएरै आफूहरूलाई महाधिवेशनमा नबोलाउने कुरा एमालेले गरेको उनले संकेत गरे।

प्रधानन्यायाधीशको विषयमा दिएनन् चासो

प्रधानन्यायाधीशको विषयमा सर्वोच्चमा देखिएको समस्याबारे उनले खासै चासो दिएनन्। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र उनको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरूको विषयमा दलहरू किन नबोलेको भनि गरिएको प्रश्नमा उनले भने, ‘हाम्रो एजेण्डा त पार्टी बनाउने हो । पार्टीको अभियानलाई देशव्यापी रूपमा फैलाइरहेका छौँ।’

प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री र राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताउँदै उनले यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल गरिएको बताए ।

सर्वोच्च अदालतमा देखिएको समस्याको समाधान अदालतले नै गरोस् भनेर गठबन्धनले धारणा बनाएको उनले बताए। त्यस्तै प्रधानमन्त्रीले पनि चासो राखेर सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरि निकास निकाल्ने उनले बताए।

More News last news
Loading...