काठमाडौँ । आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ। पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ। यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ।
यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ। दिउँसो करिब साढे १ बजे यो ग्रहण उच्च बिन्दुमा पुग्नेछ। यो ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो अवधिको चन्द्र ग्रहण हुनेछ।
यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो। यति लामो चन्द्र ग्रहण अब ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ।
एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिने यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ। तर नेपालमा भने यसको प्रभाव नपर्ने ज्योतिषशास्त्रीहरुले बताएका छन्। भारतका केही स्थानबाट ग्रहण देखिने भए पनि त्यसको कुनै दोष नलाग्ने र ग्रहण बार्नुपर्ने कुनै आधार रहेको ज्योतिषशास्त्रीको भनाइ छ।
सूर्य र चन्द्रमाको बिचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ ।
ग्रहणका बेला के गर्ने के नगर्ने ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ हुने धार्मिक विश्वास छ । त्यसैले यो बेलामा गंगा स्नान, जप, हवन, पाठपारायण, दान, धर्म गरेमा अरू बेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने मान्यता छ।
चन्द्र ग्रहणका बेला सुतेमा रोग लाग्ने, पिसापिसाव गरेमा दरिद्र हुने, त्यसपछि दिसापिसावको किरोको योनीमा जन्म हुने धार्मिक विश्वास छ । यस्तै यो बेलामा मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मने, शृङ्गार वा गाजल लगाए कुष्ट रोगी हुने, भोजन गरेमा अधोगति पतन हुने, बन्धनमा बसे सर्पको योनि हुने र कसैलाई मारेमा वा आफू मरेमा नरकमा जाने धार्मिक विश्वास छ । तर यसमा वैज्ञानिक सत्यता भने छैन ।
विज्ञान ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको कीटाणु घुम्ने हुँदा खाना खान नहुने र स्नान गर्नु पर्ने मान्यता राख्दछ । ग्रहणको बेला घर भित्रै बसेको राम्रो मानिन्छ । यसै गरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ।
ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा सफाइ गर्नुपर्ने र मूर्तिहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन। मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
