निगमले भग्यो, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नसक्ने जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन्।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताए। उनले भने,‘समायोजना भन्नुहोस वा अरु केही भन्नुहोस, तर यो मूल्यवृद्धि भएकै हो।

Advertisement

समायोजन त निगमको बाध्यता हो। अहिलेको अवस्थामा यो फिर्ता हुँदैन्।’ उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखे। पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनको गुनासो छ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए देशभरिका सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिए। उनले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरेका छन्।

सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरको आन्दोलन जारी रहने बताए।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडाल, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पनि मूल्यवृद्धि फिर्ताको माग गरे।

More News last news
Loading...