प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, गठन भयो छानबिन समिति

उदयपुर । उदयपुरको बेलका नगरपालिका-४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा भएको अनियमितताको समाचार बिभिन्न सञ्चारमाध्यममा आएपछि नगरपालिकाले नगरस्तरीय निर्णय गरेर लेखा समितिलाई छानबिन गर्ने जिम्मा दिएको हो।

Advertisement

मेयर दुर्गाकुमार थापाले नगरपालिकाको लेखा समितिका संयोजक तथा वडा नम्बर ९ का वडाध्यक्ष मोहन घिमिरेको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएको जानकारी दिए। सदस्यमा कुमारी अधिकारी र पुन्यवती रेग्मी रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रेस गर्न भनिएको छ।

बेलका नगरपालिकाले वडा कार्यालयको रोहबरमा उपभोक्ता समिति गठन गरी सूचीकृत श्रमिकलाई काममा लगाएको बताउँदै आएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ र युवा रोजगारीका लागि रुपान्तरण पहल योजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम १ हजार १ सय १ बेरोजगार छनोट गरिएको उल्लेख गरिएको छ।

बेलका नगरपालिकामा गत आर्थिक वर्ष ०७७/०७८ मा २८ वटा योजनाका लागि १ करोड ४९ लाख ६४ हजार विनियोजन गरेको थियो । जसमध्ये २ सय २० जना श्रमिकको नाममा ९७ लाख ५० हजार ८ सय २८ रुपैया भुक्तानी भएको नगरपालिकाले जनाएको छ ।

तर, श्रमिकका नाममा कीर्ते बिल भपाई बनाएर अनियमितता भएको समाचार सार्वजनिक भएपछि छानबिन समिति गठन भएको हो।

तीन वटा योजनाका लागि बिनियोजन भएको रकम काम नै नगरिकन उपभोक्ता समितिले र कर्मचारीको मिलेमत्तोमा किर्ते बिल भपाई बनाएर निकासा गरिएको भेटिएको छ।

कुल १९ लाख ६४ हजार ६ सय रुपैया बिनियोजन भएको मध्ये १३ लाख २० हजार ६ सय ५३ रुपैया काम नै नगरिकन किर्ते बिल भपाई पेश गरि निकास गरेर खाएको भेटिएको हो ।

More News last news
Loading...