एजेन्सी । अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण गरिएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो।
यस नयाँ उपलब्धीले प्रत्यारोपण प्रक्रियाका लागि आवश्यक मानव अङ्ग अभावको समस्या समाधानमा उल्लेखनीय मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
यो शल्यक्रिया न्युयोर्क सिटीस्थित एन.वाइ.यु लेनेगोन हेल्थमा गरिएको थियो। यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो।
यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डेड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले काम नगरेको लक्षण देखिन्थ्यो । त्यसैले उनका परिवारसँग अनुमति मागेर उनलाई लाइफ–सपोर्टबाट हटाउनु अगाडि यो परीक्षण गरिएको अध्ययनकर्ताहरुले रोयटर्ससँग बताएका छन् ।
यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्तनलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ ।
प्रत्यारोपण गरेका सर्जन, डाक्टर रोबर्ट मोन्टगोमेरी भन्छन्, “परीक्षणको नतिजामा सो मिर्गौलाले सामान्य जसरी काम गरेको देखियो । मान्छेबाट प्रत्यारोपण गरिने मिर्गौलाबाट अपेक्षा गरिने जति नै पिशाब यसले उत्पादन गर्यो ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
