काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ ।
बिहीबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको भाउ आज शुक्रबार पनि प्रतितोला २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज बडा दशैँको दोस्रो दिन पनि बजारमा सुनको भाउ बढेको हो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार तेजावी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार पनि चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुन थालेको छ।
नेपालीहरुका महान पर्वहरु दशैँ, तिहार, छड, ल्होसार मुखैमा आएसँगै सुन चाँदी बजारमा तीज बिर्साउने गरी व्यापार बढेको छ। काठमाडौँको न्यूरोड लगायतका ठुला सुनचाँदी बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ।
यसैगरी, नेपाल राष्ट्र बैकले तोके अनुसार, आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
